कोमल प्रसाद फुयाल
सुडाल, भक्तपुर
अशिम माया बोकेर आएको थियो मेरो सन्ध्यासुडाल, भक्तपुर
तिमीलाई एक झोला कोसेली
मलाई एक सुइयाँ स्वास।
न तिमीले पर्खेर बस्न सक्यौं
न जूनले माया बाड्न सक्यो
यस वर्षपनि त्यस्तै भयो−थाहा नपाउदै।
बादलका चाङहरूले विभिन्न आकृती बनाएको साँझ
तिमीले मलाई पुतलीको गीत सिकायौं
कसकालागि गाउने हो मैले
अलमल्ल परेको बिहान
तिमीले असरल्ल फुलेका पयौँका फूलहरू देखायौं
र फूलहरूको तालमा नाच सिकायौं।
मैले सिकेको सङ्गीत आज पनि त्यस्तै झुल्छ
मिर्मिरेमा भजन बनेर
मेरो भित्री झङ्कारसँगै चड्छ र झर्छ
आफ्नै लयमा गुञ्जन बनेर
र रून्छ निःशब्द निस्सासिएर
उहि जून मुनि सुँक्क सुँक्क ।
बादलका चाङहरू अहिले पनि देखिन्छन्
बारीका डिलमा बस्दा
सन्ध्या उस्तै बग्छ सललललललल
भेटिन्छन् होला ती आकारहरू अहिले पनि
गलाले अझै समात्न सक्छ नयाँ सुर
नुनले बर्षैं भिजे पनि स्वर यन्त्र ।
आजको साँझ बादलहरू भित्र नियाल्छु
मैले समाएका साना औँलाहरू
रूमल्लिरहेछ सङ्गालिएको मन
स्वर मागिरहेछन मनहरू एकै स्वरमा
भेट्दैछु एउटा आकृती
सायद बादल मन बन्छ मन बादल भएपछि ।