Showing posts with label nepali poem. Show all posts
Showing posts with label nepali poem. Show all posts

Tuesday, August 26, 2008

बादलभित्रको मन


कोमल प्रसाद फुयाल
सुडाल, भक्तपुर
अशिम माया बोकेर आएको थियो मेरो सन्ध्या
तिमीलाई एक झोला कोसेली
मलाई एक सुइयाँ स्वास।
न तिमीले पर्खेर बस्न सक्यौं
न जूनले माया बाड्न सक्यो
यस वर्षपनि त्यस्तै भयो−थाहा नपाउदै।

बादलका चाङहरूले विभिन्न आकृती बनाएको साँझ
तिमीले मलाई पुतलीको गीत सिकायौं
कसकालागि गाउने हो मैले
अलमल्ल परेको बिहान
तिमीले असरल्ल फुलेका पयौँका फूलहरू देखायौं
र फूलहरूको तालमा नाच सिकायौं।

मैले सिकेको सङ्गीत आज पनि त्यस्तै झुल्छ
मिर्मिरेमा भजन बनेर
मेरो भित्री झङ्कारसँगै चड्छ र झर्छ
आफ्नै लयमा गुञ्जन बनेर
र रून्छ निःशब्द निस्सासिएर
उहि जून मुनि सुँक्क सुँक्क ।

बादलका चाङहरू अहिले पनि देखिन्छन्
बारीका डिलमा बस्दा
सन्ध्या उस्तै बग्छ सललललललल
भेटिन्छन् होला ती आकारहरू अहिले पनि
गलाले अझै समात्न सक्छ नयाँ सुर
नुनले बर्षैं भिजे पनि स्वर यन्त्र ।

आजको साँझ बादलहरू भित्र नियाल्छु
मैले समाएका साना औँलाहरू
रूमल्लिरहेछ सङ्गालिएको मन
स्वर मागिरहेछन मनहरू एकै स्वरमा
भेट्दैछु एउटा आकृती
सायद बादल मन बन्छ मन बादल भएपछि ।